A.D.:
Nepal Samvat: 1146 THIMLAGA TARITIYA - 18
१२ चैत्र, काठमाडौं: सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यूले शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवाका साथै राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र तथा मालपोत करदस्तूर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोर्नुपर्ने सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न तथा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार नेपाल सरकारका सचिवज्यूहरूलाई निर्देशन दिनुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा जनतालाई प्रत्यक्ष राहत पुग्ने तथा तत्काल सम्पन्न गर्न सकिने अधूरा आयोजनालाई पहिलो प्राथमिकतामा राख्दै उत्पादन र रोजगारी वृद्धि, कृषि र कृषिमा आधारित उद्योगका साथै पर्यटन, सूचना प्रविधि र उर्जाक्षेत्रलाई प्राथमिकता दिँदै तल्लो तप्काका नागरिकका आवश्यकता सम्बोधन हुनेगरी बजेट तथा कार्यक्रम तयार गर्न निर्देशित गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूले सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्नुहुँदै कानुन बमोजिम काम गर्न डराउनु नपर्ने र असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँकतै समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो। नयाँ गठबन्धनको सरकार थप उर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको उल्लेख गर्दै उहाँले त्यसलाई आत्मसात् गरी सोही अनुरुप अगाडि बढ्न पनि नेपाल सरकारका सचिवज्यूहरूलाई निर्देशन दिनुभयो ।