A.D.:
Nepal Samvat: 1146 THIMLAGA DWADASHI - 27
सम्माननीय प्रधानमन्त्रीज्यूले हाल अर्थतन्त्रका सूचकहरू सकारात्मक बनेको भएपनि हाम्रो अर्थतन्त्र दबाबमुक्त भइनसकेको बताउँदै विकास निर्माणका काममा रहेका बेथितिहरु हटाउनुपर्ने र सबैलाई खुसी पार्ने तरिकाले नभै देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले बजेट निर्माणका क्रममा आगामी वर्ष तथा आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने, हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुनेगरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजना अनुरूप बजेट विनियोजनको सुनिश्चितता गर्ने, बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने, पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्ने, आयोजना वर्गीकरण मापदण्ड विपरीत हुने गरी सङ्घीय तहमा कार्यक्रम तथा आयोजना नराख्ने, बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा उठेका विषयहरू र आम नेपालीले दिने सुझाव समेत समावेश गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेट कार्यक्रम तयार गर्ने लगायत व्यवस्था गर्नुपर्ने लगायतका १६ बुँदे मार्गदर्शन दिनुभएको थियो ।
छलफलमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यू, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यू लगायतले बोल्नुभएको थियो ।